यस श्री शारदा विद्यापीठमा शास्त्री तहमा (स्नातक तह) साहित्य व्याकरण र ज्योतिष विषय क वर्गीय रूपमा पठनपाठन हुन्छ भने नेपाली र अर्थशास्त्र ख वर्गीय विषयका रूपमा पठनपाठन हुन्छ । अनिवार्य संस्कृत र अनिवार्य अङ्ग्रेजी गरी प्रत्येक तह वा वर्षमा ५ / ६ विषय अध्ययन हुन्छ । अर्न्तराष्ट्रिय मापदण्ड अनुरूप सञ्चालन गर्नु पर्ने भएको हुँदा केही वर्ष यता आएर उत्तर मध्यमा (आइ.ए) हटिसकेको अवस्था रहेको छ । निकट भविष्यमा आचार्य तह साहित्य विषयमा सञ्चालन गर्ने भनी विश्वविद्यालय सभाबाट पास भइसकेको छ । हाल यस विद्यापीठमा निम्न विषयहरू पढाइ भइरहेका छन् ।
संस्कृत नपढेका तर अन्य विषयबाट +२ उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले संस्कृत पढ्न चाहेमा उनीहरूलाई प्राक्शास्त्री कक्षामा भर्ना लिइन्छ । यो कुनै तह नभई सेतु कक्षा (Bridge Course) हो । यस कक्षामा १२ कक्षाको जाँच दिएका विद्यार्थीहरू पनि सहभागी हुन सक्छन् तर ६ महिनाको पढाइपछि विश्वविद्यालयले लिने प्राक्शास्त्री कक्षाको परीक्षामा उत्तीर्ण भएपछि र कक्षा ११ एवम् १२ उत्तीर्ण भएपछि मात्र शास्त्री (Bachelor) तहमा विद्यार्थीले भर्ना पाउनेछन् । यो कोर्स पढ्न मासिक शुल्क लाग्दैन । यस कक्षामा विद्यार्थीले तीन वटा विषय पढ्ने व्यवस्था छ । ‘संस्कृत व्याकरण’ र ‘संस्कृत भाषा वाङ्मय’ अनिवार्य विषयका रूपमा पढ्नुपर्ने छ भने व्याकरण, न्याय, ज्योतिष र वेदमध्ये कुनै एक ऐच्छिक विषयका रूपमा विद्यार्थीले पढ्न पाउनेछन् । पहिले साधारण मा.वि.बाट एस्.एल्.सी. वा एस.इ.ई. उत्तीर्ण विद्यार्थीहरूले ५ महिने संस्कृत भाषाप्रशिक्षण लिई उत्तरमध्यमा तहमा भर्ना हुन पाउँथे, अहिले विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटाइए पछि संस्कृत माविहरूले भाषा प्रशिक्षण कक्षा सञ्चालन गरी उक्त प्रशिक्षण उत्तीर्ण विद्यार्थीहरूलाई संस्कृतअन्तर्गतको कक्षा ११ मा भर्ना गर्दै आएका छन् । त्यस्तो प्रशिक्षण नलिएका वा ११, १२ कक्षामा १०० पूर्णाङ्कको पनि संस्कृत नपढेका विद्यार्थीले संस्कृत पढ्न चाहेमा यो प्रशिक्षण पार गर्नुपर्ने हुन्छ । अन्य माविबाट १२ कक्षा उत्तीर्ण गरेका ५०–१०० विद्यार्थीहरू प्रतिवर्ष यी कक्षामा आउने गरेका छन् ।
| अनिवार्य विषय | ऐच्छिक विषयः |
|---|---|
| १. अनिवार्य संस्कृत व्याकरण १०० | १. नव्य व्याकरण १०० |
| २. अनिवार्य संस्कृत वाङ्मय १०० | २ फलित ज्योतिष १०० |
यी विषयहरुमा अध्ययन गर्दा नव्यव्याकरण र फलितज्योतिष विषय लिन चाहने विद्यार्थीहरुले ३०० पर्णाङ्क पढ्नु पर्दछ, दुईवटा अनिवार्य र एउटा ऐच्छिक विषय तर साहित्य पढ्न चाहनेके २०० पूर्णाङ्क मात्र पढ्दा हुन्छ ।
यसका विशेषताहरू
संस्कृत माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका वा संस्कृतबाहेकका अन्य विषय लिई १२ उत्तीर्ण गरी प्राक् शास्त्री कक्षाको परीक्षासमेत उत्तीर्ण गरेका विद्यार्थीहरूले शास्त्री तहमा भर्ना हुन पाउने छन् । अहिले शास्त्री तह चारबर्से रहेको छ । सामान्यतया कक्षा १२ को रिजल्ट प्रकाशित भएपछि शास्त्री तहमा प्रवेश लिइन्छ । मान्यता प्राप्त जुनसुकै विश्वविद्यालय वा विद्यालयबाट संस्कृत विषय लिई उत्तरमध्यमा वा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई शास्त्री तहमा भर्ना गरिन्छ । यहाँ वार्षिक प्रणालीअनुसारको चार बर्से स्नातक तह सञ्चालित छ, जसमा (चार वर्षमा) अनिवार्यतर्फ नेपाली, अङ्ग्रेजी/वैकल्पिक संस्कृत रचना र संस्कृत गरी ५०० पूर्णाङ्कका, ऐच्छिक कवर्गीय विषय ( व्याकरण, साहित्य र फलित ज्योतिष मध्ये एउटा रोज्नुपर्ने) ८०० पूर्णाङ्कका र ऐच्छिक ख वर्गीय आधुनिक विषय (नेपाली, अर्थशास्त्र, मध्ये १ रोज्नुपर्ने) ८०० पूर्णाङ्कका गरी चार वर्षमा जम्मा 2100 पूर्णाङ्कका विषयहरू निर्धारित छन् । यहाँ शास्त्री पढ्न अहिले विभिन्न गुरुकुल, संस्कृत विषय लिई स्वदेश अथवा विदेशबाट कक्षा 12 उत्तीर्ण गरेका र प्राक्शास्त्री तहको भाषाप्रशिक्षण पास गरी प्रतिवर्ष विद्यार्थी भर्ना हुन आउने गरेका छन् । यसरी शास्त्री प्रथम वर्षमा प्रवेश लिन आउने विद्यार्थीहरुको सङ्ख्या प्रतिवर्ष २०-३० सम्म हुने गरेको छ ।
यस शारदा विद्यापीठमा नेपाल सरकारबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले एक बर्से शिक्षाशास्त्री तहमा पठनपाठन गर्न पाउनेछन् । नेपाली, अङ्ग्रेजी, र गणित विषय पढ्ने विद्यार्थीहरुले सम्बन्धित विषय ५००/६०० पूर्णाङ्क पढेको हुनु पर्दछ भने सामाजिक विषयमा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको भए पुग्नेछ । अर्थात् सामाजिक विषय खुल्ला प्रकृतिको रहेको छ ।
वार्षिक प्रणालीबाट सञ्चालनहुने तहका विषयहरू उत्तीर्ण गरिसकेपछि विद्यापीठमा १४ दिनको सूक्ष्म शिक्षण (माइको टिचिङ) गर्नु पर्दछ । त्यसपछि कञ्चनपुर जिल्लाका कुनै पनि विद्यालयमा गई १ महिना शिक्षण गर्नु पर्दछ । सो अभ्यास शिक्षणको बाह्य परीक्षण भइसकेपछि शिक्षण शुल्क सम्पूर्ण विद्यार्थीको १०% प्रतिशतले हुन आउने रकम विद्यार्थीहरूलाई प्रदान गरिनेछ ।
कर्मकाण्ड प्रशिक्षण नियमित पठनपाठन कार्यअन्तर्गत नपर्ने कार्यक्रम हो । मानिसका जीवनमा आवश्यक पर्ने जन्म संस्कारदेखि मृत्युसंस्कारसम्मका सम्पूर्ण कार्यक्रमहरू यसमा पर्दछन् । यी कार्यक्रमको पनि आआफ्ना मान्यता रहेका छन् यस । किसिमका कार्यक्रममा न्वारन, चूडाकर्म, व्रतवन्ध, विवाह, सत्यनारायण पूजन, रूद्राभिषेक, एकाहा, सप्ताह, श्राद्ध आदि पर्दछन् । यी सम्पूर्ण कुराहरू देखि लिएर रेखी लागाउने, मण्डप निर्माण गर्ने, जनै बनाउनेसम्मका कार्यहरू यसमा सिकाइने गरिन्छ । नियमित प्रकृक्रिया नभएकाले १०/१५ जना विद्यार्थीहरू जोकोही कर्मकाण्ड सिक्ने भएमा यसको व्यवस्था विद्यापीठले गर्ने गर्दछ । यसमा न्यूनतम शुल्क विद्यार्थीसँग र केही शुल्क विद्यापीठले वेहोर्ने गर्दछ ।
| न्वारन | मण्डप निर्माण |
|---|---|
| चूडाकर्म | वेदी निर्माण |
| उपनयन संस्कार | यज्ञशाला निर्माण |
| विवाह | रेखी लागाउने |
| अग्निस्थापना | कुशका पवित्र बनाउने |
| सत्यनारायण व्रत कथा | जनै वनाउने |
| ग्रह शान्ति | शिखासूत्र बनाउने |
| मूर्तिस्थापना | जनैका शिखा बनाउने |
| चौरासी पूजा | |
| मृत्युसंस्कार | |
| श्राद्ध |